दफा ६८
अनुगमन तथा निरीक्षण गर्नु पर्ने
(१) सेवाप्रदायकले खानेपानी उत्पादन, प्रशोधन र वितरण, फोहरपानीको सङ्कलन, प्रशोधन र सुरक्षित विसर्जनका लागि खानेपानी तथा सरसफाइ संरचनाको नियमित अवलोकन तथा निरीक्षण गर्नु पर्नेछ र आवश्यकता अनुसार नमूना परीक्षण गरी गुणस्तर कायम गराउन सञ्चालन अनुगमन गर्नु पर्नेछ।

(२) सेवाप्रदायकले सेवाग्राहीलाई वितरण गरेको खानेपानी तथा सरसफाइ सेवाको गुणस्तर ऐनको दफा ३६ बमोजिम तोकेका मापदण्ड अनुरुप भए नभएको यकिन गर्न सेवाप्रदायक आफैंले वा निरीक्षकले परिपालन अनुगमन गर्नु पर्नेछ।

(३) सेवाप्रदायकबाट वितरित खानेपानी तथा सरसफाइ सेवा स्वास्थ्यको दृष्टिकोणले सुरक्षित, ग्राह्मा र जोखिमरहित भए नभएको यकिन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वा सो अन्तर्गतका निकायले आवश्यकता अनुसार खानेपानी तथा सरसफाइ सेवाको गुणस्तर निगरानी गर्नु पर्नेछ।